कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बास्कोटा एक्लैले एक अर्बको डिल गर्न सम्भव नभएको बताए । ‘यो चानचुने बिषय होइन’ उनले भने, ‘बास्कोटा एक्लैले त्यत्रो काण्ड गरे भनेर पत्याउने आधार छैन, अरु उच्च व्यक्ति पनि संलग्न हुन सक्छन् ।’
यो प्रकरणलाई कांग्रेसले त्यत्तिकै नछाड्ने भन्दै उनले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नीतिगत निर्णयको नाममा सरकारले मनपरी गरेको र आफ्ना कमजोरी चोख्याउने तथा भ्रष्टाचारीलाई उम्काउने काम गरेको उनले बताए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुई तिहाइको शक्ति प्रयोग गरेर सरकारले अनियमितता गरिरहेको बताए । निवर्तमान सञ्चारमन्त्री बास्कोटाले स्याटलाइट, फोरजीलगायतका खरिद प्रक्रियामा अनियमितता गरेको उनको दाबी छ ।