शेर्पा समुदायको आज ग्याल्पो ल्होसार

ओकेखबर संवाददाता १२ फाल्गुन २०७६, सोमबार ०९:०२ मा प्रकाशित ( साल अघि) ४३३ पाठक संख्या

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएरनाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमापनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुँदैछ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।


सम्बन्धित खबरहरु