युरोपा लिगः जोटाले ह्याट्रिक गर्दा उल्भ्सको सहज जित

ओकेखबर संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार ०७:५८ मा प्रकाशित ( साल अघि) ३२१ पाठक संख्या

काठमाडौं, ८ फागुन । युरोपा लिगको नकआउट चरणको पहिलो लेगमा इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्सले स्पान्योलमाथि जित हात पारेको छ ।

अन्तिम ३२ को पहिलो लेगमा डिएगो जोटाले ह्याट्रिक गर्दा उल्भ्सले स्पान्योललाई ४–० ले हरायो । यो जितसँगै उल्भसको प्रिक्वार्टर फाइनलमा पुग्ने सम्भावना बढेको छ ।

उल्भ्सको मैदानमा भएको खेलमा जोटाले उत्कृष्ट प्रदर्शन गरे । जोटाले युरोपा लिगको समूह चरणको अन्तिम खेलमा बेसिक्टासविरुद्ध ह्याट्रिक गरेका थिए । खेलको १५औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा जोटाको सोही गोलको अग्रता कायम रह्यो । ५२औं मिनटमा रुबेन नेभेसले गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाए । त्यसपछि ६७ र ८१औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई प्रभावशाली जित दिलाए ।

युरोपा लिगको अर्को दाबेदार टोली इन्टरमिलानले बुल्गेरियाको लुदोगेरेट्सलाई २–० ले पराजित गर्यो । बुल्गेरियामा भएको खेलमा एन्टोनियो कोन्टेको टोलीलाई जित दिलाउनका लागि क्रिष्टियन इरिक्सन र रोमेलु लुकाकुले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा इरिक्सनले लुकाकुको पासमा गोल गरेका थिए । लउटारो मार्टिनेजको स्थानमा लुकाकु मैदान प्रवेश गरेपछि इन्टरमिलानको खेल सुधारिएको थियो ।

खेलको अन्तिम समयमा लुकाकुले गोल गर्दा इन्टरमिलानले सहज जित निकाल्यो । एजेन्सी


सम्बन्धित खबरहरु