प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।
बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।
स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण बाहिरिएको थियो । यससंगै बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।
यसैैैको अनुसन्धानको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसद् र राष्ट्रियसभा विरोध गरेको थियो ।