दोस्रोपटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

ओकेखबर संवाददाता ७ फाल्गुन २०७६, बुधबार ०७:३२ मा प्रकाशित ( साल अघि) ४०७ पाठक संख्या

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ । एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्छ र शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने गरिन्छ ।

प्लाज्मा फेरेसिसले काम नगरेपछि डायलाइसिस या प्रत्यारोपण गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको गत कात्तिकदेखि नियमित डायलाइसिस हुँदै आएको छ   ।


सम्बन्धित खबरहरु