काठमाडौं । प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताका बीचमा झडप भएको छ ।
झडपमा नेपाल विद्यार्थी संघका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
पक्राउ पर्नेमा रत्जराज्य क्याम्पसका नेविसंघ इकाई उपसभापति सुनिल शर्मा, पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईका अनुसार कक्षाकोठामा पढ्नका लागि गइरहेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई अखिलले क्याम्पस बाहिरबाट लगेको गुण्डाहरुबाट आक्रमण भएको हो ।त्यसैगरी उपसभापति शर्माका अनुसार आइतवार नेविसंघद्वारा आयोजित वनभोज कार्यक्रमको विषयलाई लिईर झडप भएको हो ।
‘पिकनिकमा बाक्लो उपस्थितिले अत्तालिएको सत्ताधारी संगठन अनेरास्ववियुले क्याम्पस हाताभित्र विद्यार्थीहरूमा अभद्र व्यवहार गरेको र नेविसंघले यस्ता खालका अराजनीतिक र अमर्यादित क्रियाकलापको प्रतिवाद गर्दा झडप भयो ।’ शर्माले भने ।
महामन्त्री दिपक भट्टराईले विज्ञप्ति जारी गर्दै सत्ताको आडम प्रहरी प्रशासनले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि भएको आक्रमणको निष्पक्ष छानविन भएर दोषि माथि कारवाही नभएर देशव्यापी आन्दोलन गर्ने उल्लेख गरेका छन् ।