“अपर्झट किमाथाङ्का नाका चीनले बन्द गरेका कारण खाद्यान्न समस्या देखिएको हो”, दुलालले भन्नुभयो, “चीनले खबर गरेर नाका बन्द गरेको भए स्थानीयवासीले प्रशस्तै खाद्यान्न उताबाट ल्याएर भण्डारण गरेर राख्न सक्नुहुन्थ्यो, किमाथङ्कावासीले एक दिनको पनि मौका पाएनन् ।”
किमाथाङ्काका निमा भोटेका अनुसार नाका बन्द भएपछि समस्या भएको छ । “हामी चागाँबजारको भरमा छाँै”, निमाले भन्नुभयो, “त्यहाँबाट खाद्यान्न आएन भने हाहाकार मच्चिन्छ, सदरमुकामबाट खाद्यान्न ल्याउन सक्ने सम्भावना छैन ।” सदरमुकाम खाँदबारीबाट सेनाको हेलिकोप्टरबाट ल्याएको खाद्यान्नले १० देखि १५ दिनसम्म मात्रै धान्ने पनि उहाँले बताउनुभयो । किमाथाङ्कामा ४३०, छिमेकी गाउँ छुमसुरमा ८४, रिदाकमा ४४१ र थुदामका ४२ जना बसोबास गरिरहेका छन् । उनीहरुमध्ये किमाथाङ्काका लागि मात्रै खाद्यान्न लगिएको हो । बाँकी गाउँमा पैदलमार्गबाट खाद्यान्न पठाइने निमाले बताउनुभयो । चीनले किमाथाङ्का नाका कहिले खोल्छ पत्तो छैन ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकाले किमाथाङ्काका लागि सात हजार किलोग्राम खाद्यान्न सदरमुकाममा तयारी अवस्थामा राखेको थियो तर सेनाको हेलिकोप्टरले दुई पटकमा चार हजार ५०० किलोग्राममात्रै लग्यो । बाँकी दुई हजार ५०० केजी सदरमुकाममै राखिएको छ । हेलिकोप्टरले नलगेपछि गाउँपालिकाले बोकाएर किमाथाङ्कासम्म खाद्यान्न लैजाने तयारी गरेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो । “हामीले किमाथाङ्काका लागि साढे सात हजार किलो खाद्यान्न तयारी अवस्थामा राखेका थियौँ, तर हेलिकोप्टरले चार हजार ५०० किलोमात्रै बोक्यो”, अध्यक्ष भोटेले भन्नुभयो, “बाँकी रहेको सामग्री खच्चडलाई बोकाएर लैजाने तयारी गर्दैछौँ किनकी त्यति सामग्रीले स्थानीयवासीलाई मुस्किलले १० देखि १५ दिनसम्म मात्रै पुग्छ ।”
कोरोना भाइरसको महामारी तिब्बतको चाँगा र डेनदाङमा नदेखिए पनि चीनले सुरक्षा सर्तकता अपनाएको छ । त्यसैले किमाथाङ्कामा खाद्यान्न अभाव भएको हो । किमाथाङ्का तिब्बती बजार चाँगाको भरमा छ ।
सङ्कट टार्न मात्रै किमाथाङ्कामा हेलिकोप्टरबाट खाद्यान्न पठाइएको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनुभयो । नाका बन्द भएको २१ दिनसम्म स्थानीयवासीले पहिले ल्याएको खाद्य सामग्री प्रयोग गरिरहेको दुलालले बताउनुभयो । “खाद्यान्न अभाव देखिएको गाउँपालिकाले लिखित जानकारी गराएपछि हेलिकोप्टरको व्यवस्था गरी केही दिनलाई सङ्कट टार्न सदरमुकामबाट खाद्यान्न पठाएका हौँ”, दुलालले भन्नुभयो, “केही दिनलाई यो खाद्यान्नले धान्छ, त्यसपछि अर्को विकल्प अपनाउने छौँ ।” हेलिकोप्टरबाट लगिएको खाद्यान्न शनिबार नै प्रहरी र जनप्रतिनिधिको रोहवरमा वितरण भएको छ । “हामीले सदरमुकामबाट हेलिकोप्टरमार्फत लगेको सामग्री परिवारका सदस्यअनुसार वितरण गरेका छौँ, निकै राहत मिलेको छ”, प्रजिअ दुलालले भन्नुभयो ।
यता स्वास्थ्य कार्यालय सङ्खुवासभा र स्थानीय प्रशासनले किमाथाङ्कामा स्वास्थ्य टोली अहिलेसम्म नपठाएको स्थानीयवासीले गुनासो गरेका छन् । किमाथाङ्काका निमाले २५ दिन बित्दा पनि सरकारको तर्फबाट चिकित्सकको टोली पठाउने कुरासम्म नउठेकामा आक्रोशित छन् । “कोरोनाको डरले उतापट्टि ठूलो सावधानी अपनाइएको छ, तर हाम्रोतिर केही छैन । किमाथाङ्कावासीलाई मास्क कसरी लगाउने वा मास्क भनेको के हो नै थाहा छैन”, उहाँले भन्नुभयो । स्वास्थ्यको क्षेत्रमा उनीहरु निकै पछाडि रहेको निमाले बताउनुभयो ।