यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ। उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइनेछ। आवेदन दिएका चारजना भने नेपाल नफर्कने भनेर उतै बसेका छन्।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए।
चीनबाट फर्किएका नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयार पारिएको छ। त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ। त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिनेछ।
यसअघि कतिपय नेपाली १२ घण्टा बसयात्रापछि वुहान सहरमा भेला भएका थिए। विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल पुर्याइएको थियो। ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ फर्केका छन्।