साहासी क्रिस्टिना सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने किर्तिमानी महिला

ओकेखबर संवाददाता ३ फाल्गुन २०७६, शनिबार २२:१६ मा प्रकाशित ( साल अघि) ४१५ पाठक संख्या

काठमाडौं। अमेरिकाकी क्रिस्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन्। ३ सय २८ दिन अन्तरिक्षमा बिताएर उनी गत बिहीबार पृथ्वीमा फर्किएकी छन्।

सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी थिइन्। अन्तरिक्ष यानबाट बाहिर निस्किएपछि हर्षित हुँदै निकै उत्साहित र खुसी रहेको बताइन्।


उनले यसअघि पेगी हिविट्सनले राखेको सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने महिलाको कीर्तिमान तोडेकी हुन्। यसअघि पेगीको नाममा २ सय ८९ दिनसम्म अन्तरिक्षमा बिताएको रेकर्ड थियो। अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति भने रुसका भलेरी पोल्याकोभ हुन्। उनले अन्तरिक्षमा ४ सय ३७ दिन अन्तरिक्षमा बिताएका थिए।

४१ वर्षीया क्रिस्टिना कोच अमेरिकी अन्तरिक्ष एजेन्सी नासामा कार्यरत अमेरिकी इन्जिनियर हुन्। नर्थ क्यारोलिना विश्वविद्यालयबाट उनले इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर पास गरेकी छिन्। उनलाई नासाले सन् २०१९ को मार्च १४ मा अन्तरिक्षमा पठाएको थियो। क्रिस्टिनाले पृथ्वीको कक्षलाई ५ हजार २ सय ४८ पटक घुमेको नासाले जनाएको छ। यस क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् । नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमामा २ सय ९१ पटक ओहोर–दोहोर गर्न सकिन्छ।

क्रिस्टिनासँग नासाका अन्य दुई सहकर्मी पनि थिए। सन् २०१९ को अक्टोबरमा क्रिस्टिना र जेसिका मेयरले अन्तरिक्ष केन्द्र बाहिर स्पेसवाक गरेका अर्थात् हिँडेका समेत थिए। यो महिलाले अन्तरिक्षमै हिँडेको पहिलो रेकर्ड हो।
अहिलेसम्म अन्तरिक्षमा ५६४ जना मानिसहरु गइसकेका छन्। पहिलोपटक अन्तरिक्षमा जाने महिला तत्कालीन सोभियत संघकी भ्यालेन्टिना टेरेस्कोभाले भने सन् १९६३ मै अन्तरिक्षको यात्रा गरेकी थिइन्।


सम्बन्धित खबरहरु