झनै आतंकित बन्दै कोरोना भाईरस : एकैदिनमा २४२ को मृत्यु

ओकेखबर संवाददाता २ फाल्गुन २०७६, शुक्रबार ०७:३५ मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मात्रै मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

त्यहाँ कोभिड–१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो। नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ। मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको देखिएको थियो। यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शाङ्घाईका पार्टी प्रमुखलाई त्यहाँ पठाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो। केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो। मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको परिप्रेक्ष्यमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चीनमा देखा परेको उक्त प्रकोपलाई अतिसावधानीपूर्वक लिनुपर्ने बताएका थिए।

जिनिभामा भएको एउटा सम्मेलनमा बोल्दै टेड्रोस एड्हानोम गेहब्रेयससले व्यक्ति वा देशैविरुद्ध यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणका लागि गरिएका प्रयासमा असर पार्ने बताए। बीबीसीको सहयोगमा ।


सम्बन्धित खबरहरु