काेराेना भाइरस : ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार तीन सय ५० नाघ्याे

ओकेखबर संवाददाता १ फाल्गुन २०७६, बिहीबार ०९:५७ मा प्रकाशित ( साल अघि) ६५७ पाठक संख्या

काठमाडौं । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तमा कोरोनाको उपचार गर्नका लागि व्यापाक परिभाषाको सुरु गरिएको थियो, जो अधिकांश घटनाका लागि जिम्मेवार छन् । यद्यपि गएको बुधबारसम्म सङ्क्रमितको सङ्ख्या घट्दै गएको बताइएको थियो ।

यसअघि गएको दुई हप्तामा सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । यसअघि एक दिनमा झण्डै चार हजार जना नयाँ बिरामी भेटिने गरेकोमा गएको दुई हप्तामा चीनमा दैनिक झण्डै दुई हजार जनामात्र नयाँ बिरामी भेटिएका थिए ।

हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हो । त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाविरुद्ध लड्न केही समयभित्रै खोप बनाउने योजना रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।


सम्बन्धित खबरहरु