सिन्धुपाल्चोकमा कोरोनाको आशंका, एक्कसी १०० भन्दा बढीलाई रुखा, खोकी ज्वारो

ओकेखबर संवाददाता २९ माघ २०७६, बुधबार ०८:२६ मा प्रकाशित ( साल अघि) १२३२ पाठक संख्या

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ३ (पहिलेको गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ ।

गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाले बिरामी भएका गुम्बामा स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले बताउनुभयो ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोली पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोधसहित पत्र पठाइएको जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु