विद्यार्थीद्धारा खाजा कटाएर मिर्गौलापीडितलाई सहयोग

ओकेखबर संवाददाता २८ माघ २०७६, मंगलवार २०:२६ मा प्रकाशित ( साल अघि) ३९८ पाठक संख्या

बागलुङ । बागलुङको कोरोना एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर मिर्गौलापीडितलाई सहयोग गरेका छन् । एकेडेमीमा क्रियाशील युवा रेडक्रस सर्कलको पहलमा विद्यार्थीबाट सङ्कलित रु ६० हजार काठेखोला गाउँपालिका–३ धम्जाका मिर्गौलापीडित विपीन आलेलाई प्रदान गरिएको हो ।
आज आयोजित नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्लासभाको ३० औँ अधिवेशनको उद्घाटन समारोहमा सोसाइटीका सङ्गठन विभाग प्रमुख विष्णु नेपाल र एकेडेमीका प्रिन्सिपल चित्र घर्तीले संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
आर्थिक अभावमा २२ वर्षीय आलेको उपचारमा समस्या भएको थाहा पाएपछि विद्यालयमा सहयोग अभियान चलाइएको एकेडेमीले जनाएको छ । विद्यार्थीले आफ्नो खाजा खर्च जोगाएर स्वतःस्र्फूतरुपमा मिर्गौलापीडित आलेलाई सहयोग गरेका हुन् । विद्यालयका शिक्षक, कर्मचारीलेसमेत सहयोग गरेका थिए ।
दुवै मिर्गौला फेल भएपछि आलेको अहिले काठमाडौँस्थित सुमेरु अस्पतालमा नियमित डायलासिस भइरहेको छ । जुनियर र युवा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीले बेलाबेला समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग जुटाउँदै आएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपकोषाध्यक्ष जीवननाथ शर्माले बताउनुभयो ।


सम्बन्धित खबरहरु