‘भ्रष्टाचार विरोधी कार्यलागि सदैव क्रियाशील रहन्छु’ : प्रहरी महानिरीक्षक खनाल

ओकेखबर संवाददाता २८ माघ २०७६, मंगलवार १९:४९ मा प्रकाशित ( साल अघि) २७९ पाठक संख्या

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले कानून कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी प्रहरी कर्मचारीले निष्ठापूर्वक एवं इमान्दारिताका साथ जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल भएको प्रतिक्रिया दिनुभयो ।
आफ्नो कार्यकालमा सङ्गठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि सदैव क्रियाशील रहेको जिकिर गर्दै उहाँले प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च बनाउन आफ्नो प्रयासमा कमी नगरेको दावी उहाँको थियो ।
प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरिएको बताउनुभयो । प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकास लिँदै हुनुहुन्छ । उहाँले सेवापश्चात् पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गर्नुभयो । उहाँले नागरिक समाजमा रहेरसमेत सङ्गठनको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।


सम्बन्धित खबरहरु