‘कठै अख्तियार, नेकपासामु लम्पसार’

ओकेखबर संवाददाता २६ माघ २०७६, आईतवार १५:४७ मा प्रकाशित ( साल अघि) ६६५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले आइतबार पनि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ।
त्यसो त सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने बयान दिएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दर्ता गरेको थिएन। पौडेलले जग्गा सरकारलाई फिर्ता गरिसकेका छन् । यसै विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई उन्मुक्ति दिएर गरेको निर्णयको विरोधमा सडकदेखी सदनसम्म कांग्रेस पार्टी र भातृ संगठनहरुले विरोध चर्काएका छन् ।

प्रदर्शनमा ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो’, ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ जस्ता नारा लगाइएका थिए।

अख्तियारले राजनितक प्रभावमा ललिता निवास प्रकरण अनुसन्धानमा विभेद गरेको भन्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म सरकार र अख्तियारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि आयोजित कोणसभालाई नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान् गुरुङ र नेपाल विद्यार्थी संघ नेविसंघ) का अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका थिए ।
पार्टीको निर्देशनबमोजिम कांग्रेसका भ्रातृ संगठनहरूले नेपाल तरुण दलको संयोजनमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।


सम्बन्धित खबरहरु