नेपालले अमेरिकलाई ३५ रनले हरायो

विक्रम गिरी २५ माघ २०७६, शनिबार १९:३७ मा प्रकाशित ( साल अघि) २३५ पाठक संख्या

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो ।

नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो । एक सय ९१ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाको पारी ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको शुरुआत राम्रो रहेन । टोलीका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि आजको खेलमा आगमन गरेका सुवास खकुरेल तीन रनमै पेभेलियन फर्किए ।
त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । खेलको सत्रौँ ओभरमा उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभेलियन फर्किए । खेलको १८औँ मिनेटमा पारस खड्का १९ रन बनाएर आउट भए । खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभेलियन फर्किउ । नेपालको स्कोर ४९ रनको छँदा पाँच खेलाडी आउट भएका थिए ।
छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशल मल्ल र सातौँ नम्बरमा मैदान प्रवेश गरेका विनोद भण्डारीले नेपालको पारी उकासे ।
कुशलले ५१ बल खेल्दै ५० रन बनाए ।
यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमानसमेत बनाए ।
कुशलले १५ वर्ष ३४० दिनको उमेरमा सो कीर्तिमान बनाएक हुन् ।
यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।
रोहितले गत वर्ष युनाइटेड अरब इमिरेटस् युएईविरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए ।
ब्याटिङ गर्ने क्रममा अमेरिकाको शुरुआत निकै खराब रह्यो । अमेरिकाले चार ओभरमा चार विकेट गुमाएको थियो । त्यो बेला टोलीको स्कोर १३ रन मात्र थियो । अमेरिकाले ११ ओभरमा २९ रन छँदा पाँचौँ विकेट गुमायो । अमेरिकाका लागि इयान होल्यान्डले अर्धशतकीय पारी खेले ।
उनले ७५ रनको योगदान दिए । करन केसी खेलको म्यान अफ दी म्याच घोषित भए ।
नेपालले आइतबार तेस्रो खेल ओमानसित खेल्ने छ । रासस


सम्बन्धित खबरहरु