कोरोना भाइरसबारे पहिलो चेतावनी दिने चिनियाँ डाक्टर ‘ली’को मृत्यु

ओकेखबर संवाददाता २४ माघ २०७६, शुक्रबार ०८:३५ मा प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

काठमाडौं । चीनबाट फैलिएको नोवेल कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।

वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए । एजेन्सी


सम्बन्धित खबरहरु