साग विजेतालाई नगद पुरस्कारसहित सम्मान

ओकेखबर संवाददाता २२ माघ २०७६, बुधबार २३:५० मा प्रकाशित ( साल अघि) २५७ पाठक संख्या

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरले नेपालमा मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा भक्तपुरबाट स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा सांसद महेश बस्नेतले खेलाडीलाई नगद पुरस्कारसहित ताम्रपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । सागमा कराँते तर्फ दुई स्वर्ण ल्याउने मण्डेकाजी श्रेष्ठलाई रु ३० हजार, उसुमा एक स्वर्ण ल्याउने सुस्मिता तामाङ र तेक्वाण्डोमा एक स्वर्ण ल्याउने काजल श्रेष्ठलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी टेबुलटेनिस तर्फ एक रजत ल्याउने शिवसुन्दर गोथे, कबड्डी तर्फ एक रजत ल्याउने यशोदा गिरी, ह्याण्डबलतर्फ एक रजत ल्याउने देवकुमारी बाँस्कोटालाई जनही रु २० हजारका दरले नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
त्यस्तै जुडोतर्फ एक कास्य ल्याउने श्रीराम माकजू, भारोत्तोलनमा एक कास्य ल्याउने लक्ष्मी वन, बाँस्केट बलमा कास्य विजेता बिक्रम जोशीलाई जनही नगद रु १५ हजारका दरले पुरस्कारसहित सम्मान गरिएको हो । खेलाडी कान्छीमाया कोजूलाई रु १० हजारसहित सम्मान गरियो । कार्यक्रममा वाग्मती प्रदेशले हालै नियुक्त गरेको जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वा, सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केशरी प्रजापतिलाई पनि सम्मान गरियो । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घ भक्तपुरका नवनिर्वाचित अध्यक्ष प्रदीप श्रेष्ठसहित पदाधिकारी र सदस्यलाई सम्मान गरिएको छ ।
प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा, खेलकूद विकास समिति भक्तपुरका नवनियुक्त अध्यक्ष श्रीभक्त कासिछ्वा, स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, जिजस भक्तपुरका उपप्रमुख सरिता कुँवरले भक्तपुरमा विकासको मूल फुटेको बताउँदै राजधानीकै छेउमा विकास खोजीरहेको भक्तपुर अव नमूनाको जिल्ला हुने बताउनुभयो । कार्यक्रमका सभापति एवं जिसस प्रमुख नवराज गेलालले भक्तपुरको विकासमा सबै क्षेत्रसँग समन्वय गर्दै जिसस अगाडि बढ्ने बताउनुभयो ।


सम्बन्धित खबरहरु