सुनकोशी–मरिण डाइभर्सन सुरुङ छिचोलियो

ओकेखबर संवाददाता २६ बैशाख २०८१, बुधबार १५:३८ मा प्रकाशित ( हफ्ता अघि) ३४ पाठक संख्या

काठमाण्डौ – सुनकोशी–मरिण डाइभर्सन सुरुङ आज छिचोलिएको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका कानढुङ्ग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेपछि सुरुङ छिचोलिएको हो ।

प्रधानमन्त्रीले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभएको हो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । सुरुङ खन्ने काम चाँडै भए पनि बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् ।

२०८४ सालको असोजमा आयोजना पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य छ । ०७७ फागुन २० मा कमलामाई–२ को कसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर आयोजना निर्माणको थालनी भएको थियो ।


सम्बन्धित खबरहरु