पारस खड्काको टिमले जित्यो लेजेन्ड्स कपको उपाधि

ओकेखबर संवाददाता २८ फाल्गुन २०८०, सोमबार १९:३२ मा प्रकाशित ( महिना अघि) २० पाठक संख्या

काठमाडौं । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।

तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने उक्त प्रतियोगिता भएको हो ।

चार टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगिताको फाइनलमा सन् २०१४ वल्र्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधि जित्यो । सन् २०१४ वल्र्ड कप लिजेन्डको कप्तानी पारस खड्का र रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरेका थिए ।

दुवै नेपाली क्रिकेट टोलीका आ–आफ्ना समयका कप्तान हुन् । एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमवार पूर्वकप्तानद्वय फाइनलमा एकअर्काको प्रतिद्वन्द्वी पाएका हुन् ।

१० ओभरको खेलमा सन् २०१४ वल्र्ड कप लिजेन्डले १०२ रनको विशाल लक्ष्य दियो । जवाफी ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लाक्पा लामाले २० रन जोड्दा उनिल श्रेष्ठले १८ रन र सीता रानामगरले १२ रनको योगदान दिए ।

अन्य ब्याटर सस्तै आउट भएपछि रेस्ट अफ नेपालले लक्ष्य भेटाउन सकेन । सन् २०१४ वल्र्ड कप लिजेन्डको बलिङमा सामसङ जंग थापाले दुई ओभरमा चार विकेट लिए । शक्ति गौचन र बद्री पंगेनीको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सन् २०१४ वल्र्ड कप लिजेन्ड्सले निर्धारित ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल बनायो । २०१४ वल्र्ड कप लिजेन्डका कप्तान पारस खड्काले १२ बलमा ३९ रन जोडे । ओपनर वीरेन्द्र शाहले २९ रन र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

रेस्ट नेपालका लाक्पा लामाले चार विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । राजकुमार प्रधान र दीपेन्द्र चौधरीको नाममा समान एक विकेट रह्यो ।

त्यस अघिका खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई १६ रन र सन् २०१४ वल्र्ड कप लिजेन्ड्सले १९९६ लिजेन्ड्सलाई पाँच विकेटले हराउँदै उपाधि भिडन्त तय गरेका हुन् ।

त्यसअघि प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको थियो । उक्त रंगशाला गुल्मीका विनोद कुँवरको नीजि लगानीमा बनेको हो ।

प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी सो मैदानको शुभारम्भ गर्नु भएको थियो । गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो ।

आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।


सम्बन्धित खबरहरु