नक्कली बिजक प्रयोग गरी १० अर्ब छली आरोपमा दुई हजार फर्ममाथि छानबिन

ओकेखबर संवाददाता १३ फाल्गुन २०८०, आईतवार ०८:०७ मा प्रकाशित ( महिना अघि) ८४ पाठक संख्या

काठमाडौं । राजस्व छल्ने नियतले नक्कली तथा झुटा बिजक प्रयोग गरी कारोबार गर्ने करिब दुई हजार व्यावसायिक फर्ममाथि सरकारले छानबिन अघि बढाएको छ। ती फर्मले करिब १० अर्ब रूपैयाँको नक्कली बिल प्रयोग गरेर राजस्व छलेको अनुमान गरिएको छ।

झुटा तथा नक्कली बिजकको प्रयोग गरी करछली सम्बन्धमा विगतमा भएका अनुसन्धानबाट प्राप्त तथ्यांकसमेतका आधारमा १ हजार ९८६ करदाताको ९ अर्ब ९३ करोड रूपैयाँको नक्कली बिजकमा अनुसन्धान भइरहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका अनुसार नक्कली तथा झुटा बिलको अनुसन्धान तथा छानबिनबाट माघ मसान्तसम्म करिब १ अर्ब रूपैयाँ कर निर्धारणसमेत भइसकेको छ।

नक्कली भ्याट बिल प्रयोग गरी सामानको सप्लाई गर्ने, सार्वजनिक निर्माण व्यवसायमा प्रयोग गर्ने, सरकारी अफिसमा उपलब्ध गराएको सामानको नक्कली बिल प्रयोग गर्ने गरेको पाइएपछि विभागले अनुसन्धान अघि बढाएको हो। कारोबार नगरी बिल मात्रै बेचेर, खरिद–बिक्रीसम्बन्धी कागजमा मूल्य मिलाएर, मूल्य अभिवृद्धि कर (भ्याट) बिल, प्यान बिल नक्कली बनाएर राजस्व छली हुने गरेको छ।

नक्कली भ्याट बिल प्रयोग गरी शंकास्पद कारोबार गरेका आधारमा केही पुराना र नयाँ फाइलहरूमाथि अनुसन्धान भइरहेको आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बरालले बताए।


सम्बन्धित खबरहरु