एमालेलाई सरकारमा जान हतार छैन : ओली

ओकेखबर संवाददाता १७ माघ २०८०, बुधबार १६:३२ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए ।

 

‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ’ उनले भने ‘हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ । ’

 

उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए ।एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।

 

अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उहाँले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभइ गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए । ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।


सम्बन्धित खबरहरु