लगातार चौथो जितसँगै पुलिस शीर्ष स्थानमा, ललितले लिए ५ विकेट

ओकेखबर संवाददाता ८ माघ २०८०, सोमबार १५:१६ मा प्रकाशित ( महिना अघि) ८४ पाठक संख्या

भैरहवा । प्रधानमन्त्री कप क्रिकेटमा लगातार चौथो जित हात पार्दै नेपाल पुलिस क्लब अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ ।प्रतियोगितामा अपराजित रहेको पुलिसले भैरहवामा भएको खेलमा एपीएफ क्लबलाई ५८ रनले हराएको हो । जितका लागि १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो ।

४० रनमा ७ विकेट गुमाएको एपीएफका सन्दीप जोरा २५ रनमा नट आउट रहे पनि उनलाई साथ दिने ब्याटर भएनन् । अमर रौतेला २३ रनमा आउट भए । रौतेला र जोराले आठौं विकेटक लागि ४३ रनको साझेदारी गरे । एपीएफलाई हराउन उत्कृष्ट बलिङ गरेका ललित राजवंशीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४ मेडन राख्दै ८ रन मात्र दिएका थिए । रशिद खानले २ तथा सागर ढकालले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरे पुलिस ४१ ओभरमा १४५ रनमा अलआउट भएको थियो । पुलिसका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४४ रन बनाए भने अर्जुन साउदले ३१ रनको योगदान गरे । एपीएफका भुवन कार्कीले ३ तथा रमेश कुर्मी र अमर रौतेलाले समान २ विकेट लिए ।


सम्बन्धित खबरहरु