सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिले पाए सभापति

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार १७:३३ मा प्रकाशित ( महिना अघि) ६२ पाठक संख्या

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिले सभापति पाएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी समयपछि बुधबार विषयगत चार समितिले सभापति पाएको हो ।

सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका सासंद माया पन्त चयन भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

यस्तै विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्तीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सासंद वीरबहादुर थापा चयन भएका छन् ।

दलहरुबीच संसदीय समितिका सभापति पदका लागि भागवण्डामा सहमति भएको हो । हाल कायम रहेका समितिहरुको सभापतिमा सदनमा प्रतिपक्षमा रहेको एमालेसहित चार दलले सभापति पाएका छन् ।

सत्ता गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्रले भने अहिले सभापति पाएको छैन । उसलाई सभापति दिन हाउसबाट सर्वसम्मतिमा विशेष अधिकार समिति थप गर्ने सहमति भएको माओवादी केन्द्रको भनाई छ ।


सम्बन्धित खबरहरु