दूरसञ्चार प्राधिकरण अध्यक्ष खनालको राजीनामा स्वीकृत

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार १६:२९ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बुझाएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई राजीनामापत्र बुझाएका थिए । उनको राजीनामा स्वीकृत भएको शर्माले जानकारी दिइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले पेश गरेको राजिनामा स्वीकृत गर्ने र रिक्त अध्यक्ष पदमा नियुक्तीको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ’क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।

टेरामक्स खरिद प्रकरण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), स्मार्ट सेल खारेजी र एनसेलको सेयर खरिद बिक्रीमा प्राधिकरण नेतृत्वले ठोस कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबनसमेत अगाडि बढाएको छ ।


सम्बन्धित खबरहरु