राष्ट्रियसभाका उम्मेदवार छनोटकाे विषयले बढ्याे कांग्रेसमा विवाद

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार ०९:३५ मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेसमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटसँगै विवाद फेरि बढ्न पुगेको छ। कांग्रेसभित्र गुटगत विवाद बढ्दै गएका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले फरक मत लेखेका छन्। केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बलबहादुर केसीले पनि मधेस प्रदेशको उम्मेदवार छनोटमा असहमति राखेका छन्।

राष्ट्रियसभा सदस्यका आकांक्षी गोपालमान श्रेष्ठसहितका नेताहरू उम्मेदवार छनोटलाई लिएर असन्तुष्टि जनाएका छन्। सत्ता गठबन्धनका दलहरूसँग भएको सहमतिअनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम आइतबार अपराह्न नै टुंगो लगाए पनि बाँकी नौ जनाको नामलाई अन्तिम रूप दिन नेताहरू रातिसम्म बसेका थिए। पार्टी उपसभापति धनराज गुरुङ स्याङ्जाबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएपछि पूर्वउपसभापति श्रेष्ठलाई कांग्रेसले समानुपातिकमा राखेको थियो।

गुटगत सन्तुलन मिलाउन परियारलाई ल्याउनैपर्ने पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री प्रकाशशरण महतलाई सभापति देउवाले सांसद बनाउन चाहेपछि श्रेष्ठ त्यहाँ पनि छुटेका थिए। त्यतिबेला सभापति देउवाले श्रेष्ठलाई राष्ट्रियसभामा लैजाने बताउँदै मनाएका थिए। तर अहिले पनि छुटेपछि उनी रुष्ट बन्न पुगेका छन्।

मध्यरातमा सम्पन्न कार्यसम्पादन समितिको बैठकले कोसीमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्दप्रसाद ढुंगाना, बागमतीमा जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा र नारायणदत्त भट्टलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

अर्जुननरसिंह र बलबहादुरले मधेस प्रदेशबाट मधेसी मुलका नेतालाई उम्मेदवार नबनाएर ढुंगानालाई उम्मेदवार बनाएको प्रति फरक मत राखेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले सभापतिको कार्यशैलीप्रति असहमति जनाएका छन्। थापाले संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञको परिकल्पना गरेको जनाएका छन्।

पार्टीका सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभुति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुन खण्डित भएको जनाएका छन्।


सम्बन्धित खबरहरु