प्रधानमन्त्री कप महिला टि–२० : बागमतीलाई हराउँदै सुदूरपश्चिम क्वालिफायरमा

ओकेखबर संवाददाता १५ पुष २०८०, आईतवार १९:२७ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ ।

फाइनलमा पुग्न सुदूरपश्चिम प्रदेशले पहिलो क्वालिफायरमा पराजित भएको कोशी प्रदेशसँग खेल्नेछ । उक्त खेल सोमबार हुनेछ । आज खेलमा जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा विन्दु रावल सर्वाधिक ५४ रनको योगदान गरिन । उनी ४९ बलमा ७ चौकासहित ५४ रनमा अविजित रहिन् ।

त्यस्तै सम्झना खड्का १६ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन । रुवि पोदार २२ बलमा २ चौकासहित १८ रनमा आउट भइन् । बागमतीको लागि मनीषा उपाध्यायले १ विकेट लिइन् । त्यसअघि कृतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती १९ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटिएको थियो ।

बागमतीको लागि कञ्चन श्रेष्ठले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३६ रनको योगदान दिइन् । त्यसैगरी हेलिसा गुरुङले १०, यशु पाण्डेले ७, सोनी पाख्रिनले १४, खुसी डङ्गोलले १० र मनीषा उपाध्यायले ८ रन बनाइन् ।

सुदूरपश्चिमकी करिष्मा थापाले ३ विकेट लिइन् भने लक्ष्मी साउद र ऋतु कनौजियाले समान दुई दुई विकेट लिए । आजै भएको पहिलो क्वालिफायर खेलमा एपिएफले कोशी प्रदेशलाई ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।


सम्बन्धित खबरहरु