१४ किलो सुन समातिएपछि घलेले भनेका थिए- सुन मीनबहादुरको हो

ओकेखबर संवाददाता २२ मंसिर २०८०, शुक्रबार ०८:४९ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित समातिएका चन्द्र घलेले उक्त सुन मीनबहादुर घलेको भएको बयान दिएका छन् । बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्रको साथबाट १४ किलो सुन बरामद गरिएको थियो ।

‘बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडामा बेरेरे छातीको दायाँबायाँ राखेर चन्द्रले ल्याउनु भएको थियो’ त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रमुख अर्जुनचन्द ठकुरीले भने ‘चन्द्रलाई पक्राउ गरेपछि सुन मीनबहादुरको भएको बयान दिएका थिए ।’ चन्द्रले छाती र जुत्तामा सुन लुकाएर ल्याएका थिए ।

उनको बयानको आधारमा प्रहरीले मीनबहादुरलाई राति नै धुम्बाराहीबाट पक्राउ गरेको ठकुरीले बताए । उनीहरू दुवै जना गोरखाको भएको बुझिएको छ ।

घले बुधबारै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो । त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो। बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए।

विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए। उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो ।


सम्बन्धित खबरहरु