रुसी सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने गिरोहका मुख्य एजेन्ट पूर्वसैनिक

ओकेखबर संवाददाता २० मंसिर २०८०, बुधबार १७:१० मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा उदयपुर कटारी–६ का हरिबहादुर विक, काठमाडौं जोरपाटीका–५ का सन्तोष रोका, सिन्धुपाल्चोक इन्द्रवाती–२ का मनिष न्यौपाने, काठमाडौं–१६ का रोजल महर्जन छन् ।

त्यस्तै काठमाडौं बूढानिलकण्ठका क्षितिज गिरी, सिराहा गोलबजारका दिपेन परियार, काभ्रेका सुवास लामा, चितवन राप्तीका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्का सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ घोराहीका द्रोणा डांगी छन् ।

उनीहरुको साथबाट प्रहरीले रसिया पठाउन लागेका विभिन्न व्यक्तिको पासपोर्टसहित पक्राउ गरेको छ । त्यो बाहेक प्रहरीले उनीहरुको साथबाट २६ लाख नगद रुपैयाँ मोबाइलसमेत बरामद गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ परेका मध्ये हरि विक र सुजता दाहाल मूख्य एजेन्ट रहेको प्रहरीको दाबी छ । बरामद भएको पासपोर्ट मध्ये सुजताको साथबाट २७ थान पासपोर्ट र १४ लाख १८ हजार नगद रकम तथा ईश्वर अधिकारीको साथबाट १६ थान पासपोर्ट र १३ लाख ४२ हजार नगद रुपैयाँ बरामद भएको हो ।

उनीहरुले पठाएका मध्ये ११ जना रसिया पुगेर नेपाल फर्किएको खुलेको छ । उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत् रसियन आर्मीमा भर्ना हुनका लागि आवश्यक अन्तर्वार्ताको कक्षासमेत सञ्चालन गर्ने गरेको खुलेको छ ।

उनीहरुको भिषा प्रक्रियाको सबै काम हरि विकले गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार विक नेपाली सेनाका अवकासप्राप्तसमेत हुन् । प्रहरीकाअनुसार रसिया पुगेर फर्किनेहरुमा एक जना प्रहरी र एक जना सशस्त्र प्रहरीकै असईसमेत छन् ।

उनीहरु दुवैजनालाई हरि विकले पठाएको खुलेको छ । उनीहरु रसियन सेनामा तीनमहिना कामसमेत गरेर फर्किएको खुलेको छ । पीडितले प्रहरीलाई दिएको जानकारीअनुसार रसियन आर्मीले युद्धका लागि अग्रभूमिकामा नेपालीलाइ पठाउने गरको बयान दिएका छन् ।


सम्बन्धित खबरहरु