विमान चार्टर्ड गरी नेपाल आइपुगे चिनियाँ खेलाडी

ओकेखबर संवाददाता ८ मंसिर २०८०, शुक्रबार ०८:४८ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी आज बिहीवार नेपाल आइपुगेका छन् ।

नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन र होटल एसोसिएशन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

याे प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली चढेकाे विमान पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे । उनीहरू चिनियाँ सरकारको सहयोगमा हिमालय एअरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आएका हुन् ।

प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुनेछन् र प्रत्येक टोलीमा तीन जना रहनेछन् ।

यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन । प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट शुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि पाँच/पाँच किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ ।

नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले तीन लाख ३० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख आठ हजार, तेस्रो हुनेले ५४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडामा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए ।


सम्बन्धित खबरहरु