त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार १९:४३ मा प्रकाशित ( महिना अघि) ४४ पाठक संख्या

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई जिल्ला अदालत काठमाण्डौले दोषी ठहर गरेको छ । आज बिहीवार जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले छ जनालाई दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको हो ।

दोषी ठहर भएका रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई २० हजार रुपैयाँ जरिबाना र दुई वर्षका दरले कैद सजायको फैसला भएको छ । यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चबापतको २८ लाख १७ हजार पाँच सय ९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

२०७७ सालको असोजमा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि नेपाल विद्यार्थी सङ्घको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आक्रमण गरेको थियो । उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा गम्भीर चोट लागेको थियो । प्रहरीले आचार्य, रावल लगायतमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । आरोपीहरू जिल्ला अदालत काठमाण्डौको आदेशमा धरौटीमा छुटेका थिए ।

ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयको प्रस्तावमा सरकारले आरोपीहरूविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो । मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएपछि सर्वोच्चले मुद्दा अघि बढाउन आदेश दिएको थियो । चलाउनेले ढिलै भए पनि न्याय पाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।


सम्बन्धित खबरहरु