यी हुन् मन्त्रिपरिषद्का पाँच निर्णय (सूचीसहित)

ओकेखबर संवाददाता ७ मंसिर २०८०, बिहीबार १२:५७ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले योसहित पाँच निर्णय गरेको हो ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।

मन्त्रिपरिषद् बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको छ । यस्तै विद्युत् सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय भएको हो ।

सूची :-
१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने- रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।
४. नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५. ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।


सम्बन्धित खबरहरु