विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार, घरेलु मैदानमा यमनसँग पराजित

ओकेखबर संवाददाता ५ मंसिर २०८०, मंगलवार २२:०३ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं। फिफा विश्वकप – २०२६ र एएफसी एसिया कप – २०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गत साता यूएईसँग उसकै मैदानमा ४–० ले पराजित भएको नेपाल मंगलबार घरेलु मैदानमा यमनसँग पनि निराश हुनुपर्यो ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भयो । दुवै गोल अन्तिम ३० मिनेटमा भएका हुन् । पहिलो गोल ओमर अब्दुल्लाह अल दाहीले ७२ औँ मिनेटमा र अर्को गोल इन्जुरी समयको पहिलो मिनेटमा मोहम्मद अब्दुल्लाह अल दाहीले गोल गरेका हुन् ।

रंगशालामा उपस्थित १३ हजार ७३५ दर्शकको साथ पाएको भए पनि नेपालले केही अवसरलाई गोलमा परिणत गर्न सकेन ।

फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको भए पनि घरेलु मैदानको फाइदा उठाउन सकेन ।

अखिल नेपाल फुटबल संघ एन्फाले दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरेको थियो ।

त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था गरेको छ ।

विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल भइरहेका हुन् ।

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । त्यतिबेला नेपाल ११–० ले पराजित भएको थियो ।

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो ।


सम्बन्धित खबरहरु