अब गणतन्त्र जोगिँदैन : राप्रपा

ओकेखबर संवाददाता २२ कार्तिक २०८०, बुधबार ०८:०० मा प्रकाशित ( महिना अघि) ३५ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको सर्वदलीय बैठकलाई गणतन्त्रवादी दलहरूको पराजित मानसिकताको उपजको संज्ञा दिएको छ ।

संसद्का दुई बलिया राजनीतिक दलहरुलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘सर्वदलीय’बैठकमा छलफल गरेका थिए । गणतन्त्र मान्ने र शान्ति प्रक्रियामा सहभागी दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।

संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र गणतन्त्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बैठकमा निम्त्याइएको थिएन । सहभागी नेताहरुले एक स्वरमा गणतन्त्र र संविधानविरुद्ध प्रहार हुन थालेको भन्दै यसको रक्षाका लागि एकजुट हुने प्रण गरेका छन् ।

बैठकमा निम्तो नपाएपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनतालाई डेलिभरी दिन नसकेको गणतन्त्रको आयु लामो नरहेको बताए ।

उनले भने, ‘गणतन्त्र यो देशका लागि सुहाउँदो व्यवस्था होइन भन्ने जनताले बुझिसकेका छन् । अब दलहरू बैठक बस्दैमा गणतन्त्र जोगिँदैन । यो उनीहरूको पराजित मानसिकता मात्रै हो ।’

६२/६३ सालपछि माओवादीको हिंसात्मक आन्दोलनको जगमा अनायास आएको गणतन्त्रले देशको सार्वभौमिकता र एकता नै खण्डित बनाएको तथा जनतालाई डेलिभरी पनि दिन नसकेको श्रेष्ठको बुझाइ छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन विदेशबाट फर्किएपछि आन्दोलनको विषयमा ठोस निर्णय लिने उनले बताए । जनताको साथ लिएर चार वर्षभित्रै गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउने उनले दाबी गरेका छन् ।


सम्बन्धित खबरहरु