डाक्टरमाथि कुटपिट भएकाे विराेधमा पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

ओकेखबर संवाददाता २१ कार्तिक २०८०, मंगलवार ०८:५९ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।

गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए ।

सङ्घका महासचिव डा सञ्जिव तिवारीले विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुको कारण खुलाउन पनि आग्रह गर्नुभएको छ । निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए ।

निमोनियाको सङ्क्रमणको उपचारका लागि उनीहरु दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पताल निर्देशक डा रवि शाक्यले जानकारी दिए । औषधि चलाएको केही समयमै बिरामीको ज्यान गएकाले आफन्तले शङ्का गरेका भए पनि औषधिको कारण नभइ गम्भीर खालको निमोनियाका कारण उनीहरुको ज्यान गएको शाक्यले बताए ।

यसैबीच पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले आजदेखि आकस्मिकबाहेकका सेवामा उपस्थित नहुने घोषणा गरेका छन् । चिकित्सिकहरुले विज्ञप्ति निकालेर कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका हुन् । दोषीलाई प्रचलित ऐन अनुसार कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन् ।


सम्बन्धित खबरहरु