काठमाडौं महानगरले माग्यो ७१ प्रधानाध्यापक

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार ०९:३३ मा प्रकाशित ( महिना अघि) ५० पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार महानगरपालिकाले आधारभूत तह (१–५)का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना जारी गर्दै जानकारी दिएका छन्।

उनका अनुसार ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। यस्तै दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि समेत भएको हुनुपर्ने जनाइएको छ।

कोइरालाका अनुसार दरखास्त बुझाउनेले माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि पन्ध्र सय र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क बुझाउनुपर्ने पर्नेछ। त्यस्तै, महानगरपालिकामा राजश्व बुझाएको भौचर समेत संलग्न गराउनुपर्ने छ।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा महानगरले प्रधानाध्यापक छनोट गर्ने बताएको छ।


सम्बन्धित खबरहरु