प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार ०८:३३ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । उनले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्वार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका छन् ।

शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।

बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको उपचार व्यवस्थापनका लागि १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रतर्फ गएका छन् ।

भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ(आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् ।


सम्बन्धित खबरहरु