सुन तस्करीका नाइके दावाको नेपाली नागरिकता रद्द

ओकेखबर संवाददाता १८ कार्तिक २०८०, शनिबार ०७:३७ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडाैं। झन्डै ६१ किलाे सुन तस्करी प्रकरणका नाइके चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता रद्द भएकाे छ। गृह मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले छिरिङको नागरिकता रद्द गरेको हो।

उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेबाट नेपाली नागरिकता लिएका थिए। उनले २० पुस ०७४ मा काभ्रेको नमोबुद्ध नगरपालिका ठेगाना राखेर निमा लामाको नाममा नेपाली नागरिकता बनाएकाे पाइएकाे थियाे।

तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । छानबिनमा उनले झुटा विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएकाले रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

नेपाली महिलासँग बिहे गरी छिरिङ लामो समयदेखि नेपालमा बस्दै आएका छन् । ठमेलमा उनको होटेल छ । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

उनीसँगै पक्राउ परेका अन्य चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ। ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ। तर, सेटिङमा विदेशीलाई नागरिकता दिने कर्मचारीमाथि भने छानबिन र कारबाही भएको छैन।

गत ३ साउनमा मोटरसाइकल र स्कुटरको ब्रेक शुमा हङकङबाट तस्करी गरेर भित्र्याइएको ६० किलोे ७१६ ग्राम सुन बरामद भएकाे थियो।


सम्बन्धित खबरहरु