हालसम्मकै ठूलो आइपिओ जारी गर्दै विद्युत् प्राधिकरण

ओकेखबर संवाददाता २ कार्तिक २०८०, बिहीबार १०:१७ मा प्रकाशित ( महिना अघि) ८१ पाठक संख्या

काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । प्राधिकरण आफ्नो वित्तीय पुनर्संरचना गरेर चुक्ता पुँजी बढाउन प्रिमियम मूल्यमा ६० अर्ब बराबरको आइपिओ ल्याउने भएको हो ।

प्राधिकरणले आफ्नो चुक्ता पुँजी तीन खर्ब बनाउने योजना बनाएको छ । त्यसका लागि एक खर्ब ९५ अर्ब थप पुँजी आवश्यक छ । त्यसकै १० प्रतिशतको रकममा प्रिमियम मूल्य थप गरेर ६० अर्बको आइपिओ जारी गर्ने प्रस्ताव प्राधिकरणले अर्थ मन्त्रालयमा पेस गरेको छ। प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब एक सय २५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ । त्यसअनुसार प्राधिकरणले २४ करोड कित्ता सेयर निष्कासन गर्ने देखिन्छ ।

रकम र कित्ताका आधारमा प्राधिकरणको आइपिओ नेपाली पुँजी बजारकै धेरै (ठूलो) हुन आउँछ । अपवादमा बाहेक निकट भविष्यमा यो बराबरको आइपिओ सम्भावना अत्यन्तै कम छ । यसअघि नेपाली पुँजी बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता सेयर निष्कासन गरेको थियो । सो रेकर्डलाई प्राधिकरणले तोड्ने देखिन्छ ।

उक्त प्रस्ताव अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुग्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि आइपिओ निष्कासनको थप प्रक्रिया अघि बढ्छ । प्राधिकरण आफ्नै ऐन (नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१) बमोजिम सञ्चालित छ । सोही ऐनबमोजिम प्राधिकरणले तेस्रोपटक वित्तीय पुनर्संरचना गरी संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको हो । सरकारबाट स्वीकृत पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अघि बढाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।


सम्बन्धित खबरहरु