दुग्धजन्य पदार्थको मूल्यमा छुट, के मा कति ?

ओकेखबर संवाददाता २९ आश्विन २०८०, सोमबार १७:१० मा प्रकाशित ( महिना अघि) ७५ पाठक संख्या

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानद्वारा उत्पादित दूध तथा दुग्धजन्य पदार्थको मूल्यमा छुट दिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूध तथा दुग्धजन्य पदार्थमा प्रतिलिटर २ रुपैयाँदेखि सय रुपैयाँसम्म छुटको व्यवस्था गरिएको जानकारी गराएको हो ।

दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर दुग्ध विकास संस्थानले उत्पादन गरेका वस्तुहरु आम उपभोक्तालाई सहुलियत दरमा दिने निर्णय गरिएको मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन् । जस अनुसार प्रतिलिटर ९७ रुपैयाँ पर्ने स्टाण्डर्ड दुधको मूल्य २ रुपैयाँ घटाएर ९५ रुपैयाँ राखिएको छ ।

त्यसैगरी दहीको प्रतिलिटर २० रुपैयाँ, नौनी प्रतिकेजी १०० रुपैयाँ, घिउ प्रतिलिटर १०० रुपैयाँ, मिठाईमा प्रतिकेजी १० रुपैयाँ, याक चीज ५ सय ग्राममा ६० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । त्यस्तै फ्रेस मिल्क २०० एमएल बोतलमा ५ रुपैयाँ छुट गरिएको छ।

पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा अनुगमनको क्रममा खाद्य तथा दाना बजार ४४५ पटक, खाद्य उद्योग १२९ पटक, होटल रेष्टुरेन्ट १९५ पटक गरी ७६९ पटक खाद्य अनुगमन निरीक्षणगरी म्याद गुज्रेका तथा प्रतिकूल गरी करिब २ लाख बराबरको सामाग्री जफत गरी नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु