भ्रष्टाचार मुद्दा लागेका पोखरेल जिल्ला न्यायाधीशमा उत्तीर्ण

ओकेखबर संवाददाता ९ फाल्गुन २०७८, सोमबार १०:०० मा प्रकाशित ( साल अघि) ११६ पाठक संख्या

काठमाडौं । जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण भएका एक उम्मेदवार भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको पाइएको छ । न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको जिल्ला न्यायाधीशको लिखित परीक्षामा दोस्रो नम्बरमा नाम निकाले चन्द्रकुमार पोखरेल भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको पाइएको हो ।

उनी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको खुलेको हो । नौवटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमतिप्राप्त गरेभन्दा बढी चुनढुंगा निकालेको विषयमा राजस्व उठाउने सिफारिस भएकोमा त्यसलाई १८ लाखमा घटाई एक अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियारले दायर गरेको मुद्दा विशेषमा विचाराधीन छ । अख्तियारले आरोपपत्र दायर गरेसँगै उनी निलम्बित भएका थिए ।

‘कानुनको आफूखुसी गलत व्याख्या गरी कम्पनीहरूलाई क्षतिपूर्ति (राजस्व)असुल गर्नबाट उन्मुक्ति दिने बद्नियतका साथ’ पोखरेलसमेत सम्मिलित समितिले राजस्व चुहावट गरेको भन्दै उनलाई सजाय माग गरिएको छ । सिमेन्ट उद्योगहरूबाट उठाउनुपर्ने राजस्वमा चुहावट गर्न सहयोग गर्दै सरकारलाई एक अर्ब २४ करोड ४५ लाखभन्दा बढीको नोक्सानी गराएको आरोप उनीमाथि छ । खानी तथा भूगर्भ विभागले गठन गरेको एक समितिमा रहँदा कानुनको गलत व्याख्या गरी उन्मुक्ति दिएको उनीमाथि अख्तियारको अभियोग छ ।

भ्रष्टाचार मुद्दाका प्रतिवादी भएकाले पोखरेलले लिखित परीक्षा उत्तीर्ण गरे पनि न्यायाधीशको मौखिक परिक्षामा भाग लिन नपाउने भएका छन् । यद्यपि मौखिकको मितिभन्दा अगाडि नै सफाइ पाएमा भने सहभागि हुन पाउनेछन् ।


सम्बन्धित खबरहरु