मन्त्री रेणु यादवको स्पष्टोक्ति– घेराबन्दी गरेपछि हत्याकाण्डको चेतावनी

ओकेखबर संवाददाता ७ माघ २०७८, शुक्रबार २०:४३ मा प्रकाशित ( साल अघि) १२४ पाठक संख्या

काठमाडौं । गौर नरसंहारको उदाहरणसहित दिएको उत्तेजनात्मक भाषणले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विवादमा परेकी छिन् । उनको अभिव्यक्ति पदीय मर्यादाविपरित रहेकोभन्दै विपक्षी एमाले र नागरिक अगुवाहरुले राजीनामा मागेका छन् ।

मधेस आन्दोलनको बलिदान दिवस मनाउन रौतहट पुगेकी मन्त्री यादवले आफूलाई अबरोध गर्न खोज्ने जनमत पार्टीका कार्यकर्ता र अध्यक्ष सीके राउतलाई गौर घटनामा जस्तै घेराबन्दी गरेर मारिदिनसक्ने चेतावनी दिएकी थिइन् । ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ, जुन गौरको राइस मिलमा भएको थियो’ मन्त्री यादवले भनेकी थिइन्, ‘म डाक्टर साबलाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर तपाईलाई मारिदिन्छन् ।’

रौतहटको गौरमा ३ चैत २०६३ मा भएको एउटा नरसंहार, जहाँ मधेसी जनअधिकार फोरम समर्थक समूहले २७ माओवादी कार्यकर्तालाई लखेटी–लखेटी हत्या गरेका थिए । न गहिरो अनुसन्धान गरियो, न त दोषीमाथि कारबाही गरियो । त्यो बर्बर हत्याकाण्डलाई पीडित परिवारलाई १०–१० लाख राहत दिएर बिर्सिइयो ।

दण्डहिनताको पराकाष्टाको उदाहरण बनेको गौर नरसंहार सम्झाउँदै धम्की दिएकी यादवलाई मन्त्रीबाट हटाउन उनको पार्टी जनता समाजवादी, सत्तारुढ गठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब छ । प्रतिपक्षी दल एमालेले यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

नागरिक अगुवाहरुले शुक्रबार जारी गरेको वक्तव्यमा मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भनिएको छ ।

‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो’ वक्तव्यमा छ, ‘हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादा र संविधानविपरित घृणा फैलाउने गरी आएकाले कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछिन् ।


सम्बन्धित खबरहरु