अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

ओकेखबर संवाददाता २९ कार्तिक २०७८, सोमबार ०७:४९ मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

काठमाडाैँ । अस्ट्रेलियाले आइसिसी टी-ट्वेन्टी विश्वकपको उपाधि जितेको छ । पहिलो पटक टी-ट्वेन्टी विश्वकपको उपाधि जित्ने क्रममा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्‍यो । यसअघि अस्ट्रेलियाले २०१० मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो ।

आइतबार दुबईमा भएको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दा अस्ट्रेलियन ब्याट्सम्यानहरूले सानदार इनिङ खेले । यो छोटो संस्करणको पहिलो उपाधि जित्ने क्रममा ओपनर डेभिड वार्नर र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका मिचेल मार्शले करिअरकै सानदार अर्धशतकीय इनिङ खेले । यसअघि न्युजिल्यान्डले टस हारेर पहिलो ब्याटिङ गर्दे केन विलियमसनको सानदार अर्धशतकीय इनिङको मद्दतमा १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले ७ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

अस्ट्रेलियाका लागि वार्नरले ३८ बलमा ५३ रन बनाएका थिए । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान एरोन फिन्च ५ रनमानै आउट भएपछि क्रिजमा आएका मिचेल मार्शले वार्नरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। साथै मार्शले तेस्रो विकेटका लागि ग्लेन म्याक्स्वेल सँग पुन २५ रनको साझेदारी गरेका थिए । मार्शले ५० बलमा ७७ रनको सानदार अविजित इनिङ खेलेका थिए । उनले आफ्नो इनिङमा ६ छक्का र ४ चौका प्रहार गरे । उनलाई म्याक्सवेलले १८ बलमा २८ रन बनाएर अविजित साथ दिए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिनु बाहेक अन्य कुनै पनि बलर गतिलो प्रदर्शन गर्न सकेनन् ।

विलियमसनको अर्धशतकले जोगिएन न्युजिल्यान्ड
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले सानदार इनिङ खेलेका थिए । पहिलो १० ओभरमा केवल ५७ रन बनाएको न्युजिल्यान्डका लागि विलियमसनले विस्फोटक इनिङ खेलेपछि प्रतिस्पर्धात्मक लक्ष्य दिन किवि टीम सफल रह्यो ।

न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन तयार गरेको थियो । उसका लागि कप्तान केन विलियमसनले सानदार इनिङ खेलेका थिए । उनले ४८ बलमा ८५ रनको स्कोर बनाएका थिए । उनले १० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाएर आउट हुँदा अर्का ओपनर डर्‍याल मिमचेल ११ रनमा आउट भए । धिमा सुरुवात गरेको न्युजिल्यान्डलाई कप्तान विलियमसनले सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । न्युजिल्यान्डका लागि थप रनका रूपमा ग्लेन फिलिपले १८ रन बनाउँदा जेम्स निसम १३ तथा टीम सेइफर्टले ८ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका लागि जोस हेजलउडले ३ विकेट लिँदा एडम जाम्पाका नाममा १ विकेट रह्यो ।


सम्बन्धित खबरहरु