आज: 

मलाई असार चाहिन्छ

ओके खबर १९ असार २०७८, शनिबार १२:०२ मा प्रकाशित ( महिना अघि) १७१ पाठक संख्या

हरियो पहिरनमा
तिब्र पाईला चालिरहेको असारलाई
लगातार पछ्याउँदैछु म …

तर –
सिमसिमे पानीको रेसमी बाछिटाहरुमा
निमग्न भिजिरहेको उसले
मलाई –
भर्खरै टाँगिएको इन्द्रेणी देखाएर
अब मलाई नपछ्याउ भन्दैछ
आफन्तको आग्रह भुलेर
अब त्यसरी कहिले नदौड भन्दैछ …
तर हतार भागिरहेको त्यो असार
मलाई चाहिन्छ ।

कुहिरोको सेतो पछ्यौरी ओढेर
पर पर गइरहेको असारलाई
आफैसंग कैद गर्न चाहँदैछु म …

फेरि –
घामको धारमा टेकेर
धमिलो खोला तर्न लागेको उसले
मलाई
चराहरुको सुमधुर आवाज सुनाएर
अब तिमी यो गाउँ छोडेर
ब्यर्थ्यै मेरो मायामा नभुल भन्दैछ
तर जान्छु नभनी पाइला सार्दै गरेको त्यो असार
मलाई चाहिन्छ ।
यो असारले मलाई छोडेर जादै गरे पनि
म शब्दहरु छुपुछुपु रोप्ने छु
भावनाको तरेली परेका
हिलाम्मे गराहरुमा!
र एक मुठी शब्द छरेर
एक मुरी सृजनाको बाला हरु लहलह झुलाउने छु !

रचनाकार सुनिता गिरि हङकङ साहित्यिक साझा शृङ्खला कि निवर्तमान संयोजक हुन्


सम्बन्धित खबरहरु