आज: 

कोहि घर त कोहि घाटमा

रेखा भुसाल १९ जेष्ठ २०७८, बुधबार ११:१० मा प्रकाशित ( महिना अघि) ७२२ पाठक संख्या

कोरोना संक्रमण २०१९ को डिसेम्बर देखि चीनको एक प्रान्त बाट कोरोना भाइरस नामक कोभिड – १९ को संक्रमण सुरु भए पश्चात् विश्वका सयौं देशहरु संक्रमणको चपेटामा परे । म पेशाले एक स्वास्थकर्मी (नर्स) ।  विशेष गरि स्वास्थसम्बन्धि कुरा त्यो पनि महामारी को रुप लियो । चीनमा छोटो समयमा संक्रमण र मृत्यु ह्वात्तै वृद्धि भएको थियो । मेरो मनमा अनेकौं प्रश्न हरु उब्जनु स्वभाविक थियो ।

 

अब नेपालमा यसको स्वरुप कस्तो हुने हो। नेपालमा जबदेखी संक्रमणको पहिलो चरण सुरुवात भयो म काठमाडौंको मध्य बानेश्वरमा रहेकोे ” भेनस” अस्पतालमा कार्यरत छु। विशेष गरि बिचमा केहि महिना लगभग कोभिड – १९ को  केसहरु बन्द भैसकेको थियो। तर भारत लगायत विभिन्न देशहरु संक्रमण निकै वृद्धि भएर आयो । फेरि दोस्रो लहर फैलियो । बिस्तारै बिस्तारै संक्रमण दरमा वृद्धि हुदै अस्पतालहरुमा बिरामीको संख्या खचाखच हुन् थाल्यो। अक्सिजन र स्वास्थ सम्बन्धि सामाग्री, निकै अभाव नेपाल भर भयो पहिला भन्दा यो पटक धेरै जटिल अवस्था आउँछ भन्ने अनुमान भएकोले हामी बढी सतर्क भएर काममा जुटेका थियौं । जति गाह्रो, साह्रो , भोक, प्यास, दिन, रात र संक्रमण हुने चिन्ता नगरी मृत्यु सैयामा चीत्कार गरिरहेका बिरामी र बाहिर झ्यालको सिसा बाट हेर्ने अभिभावक संग आवश्यक परामर्श सहित आफ्नो कर्मलाई उच्च मनोबलका साथ निरन्तरता दिइ रहेका छौँ ।

 

मानवीय स्वभाव र भावना त हो। काम गर्ने क्रममा कुनैबेला एकदमै नराम्रो लाग्ने क्षण मेरो मानसपटलमा झझल्को बनेर आइरहन्छ । ती अबोध बालबालिका छोडेर बुवा आमा को परलोक धाम प्रस्थान । जन्म र मृत्यु प्राणीहरु निश्चित छ । प्राकृतिक र अप्राकृतिक मृत्यु हुन्छ । कहिले कहाँ र कसरी हुन्छ थाहा हुदैन। खासगरी हामी (स्वास्थ कर्मी) र बिरामिको कुरुवा संग पेसा मा त फरक हुन्छौ ( व्यावहार) तर मन , भावना त एउटै हुन्छ नि हामीले पनि मनमा भगवानसंग सबै बिरामीहरुलाई छिटो भन्दा छिटो निको होस भनी प्राथना गरेका हुन्छौ। तर अपसोच हर प्रयास गर्दा गर्दै पनि कोहि घर त कोहि घाटमा पुग्ने अवस्था आउँछ। जुन धेरै पिडादायी हुन्छ । अहिले महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखी पलास्टिक भित्र( पि .पि .इ ) बेरिएर २४ घन्टा भोक, निन्द्रा नभनी हरेक खाले पिडालाई लुकाएर, दिसा पिसाब च्यापेर, घरपरिवार छोडेर काम गरेका हुन्छौं ।

 

फ्लोरेन्स नाइँटिङेल को ” लेडि विथ द ल्याम्प “लाई अनुसरण गरेर बिरामी , परिवार र आफन्त संग खुशी साट्न पाउदा आफ्नो पेशा गर्व गर्छु । अस्ति भर्खरै मात्रै भेरी अस्पतालमा स्वास्थकर्मी माथि भएको त्यो खाले आक्रमणले मनमा त्रास मात्रै होइन हाम्रो सुरक्षा कस्ले गर्ला भन्ने चिन्ता प्रकट हुन्छ । स्वास्थ कर्मी अन्तिम सम्म बिरामीको नयाँ जीवन को लागि प्रयत्नरत हुन्छ । विशेषगरि समय, अवस्था र परिस्थिति फरक फरक हुन्छन। आफुले आफैंलाई सम्झाउने र मनोबल उच्च बनाउने प्रयास गर्छो। हामी बिरामिलाइ कसरी सजिलो बनाउने भन्ने कुरामा ध्यान केन्द्रित हुन्छौं सदैव । जब बिरामी निको भएर घर जानुहुन्छ तब मन धेरै खुसि हुन्छ। आफुले गरेको दुख पिडा सबै भुलेको अनुभुति हुन्छ ।

 

हाम्रो समाजमा कोभिड-१९ नामक कोरोना भाइरसलाई सामान्य रूपमा अझै पनि लिएको पाइन्छ । यस्ले धेरै जनाको ज्यान लिइसकेको छ दिनानुदिन संक्रमणदर वृद्धि भएको छ । फेरि येस्ले पछिका दिनमा जटिलता निम्त्याउन सक्ने सम्भावना विभिन्न प्रक्षेपणहरुले तेस्रो लहरको चेतावनी दिएका छन। त्यसकारण यसलाइ सामान्य नठानि घरमै बसौ सुरक्षित रहौ। अनावश्यक रूपमा आवत जावत बन्द गरौं । सामाजिक दुरि कायम गरौ स्वास्थ मापदण्ड पालना गरौं ।
लेखक रेखा भुसाल पेशाले नर्स हुन्। 


सम्बन्धित खबरहरु