चैत २० गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने

ओकेखबर संवाददाता १४ चैत्र २०७७, शनिबार ०७:५८ मा प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

काठमाडौं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरूआत गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो ।

रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिए । उनका अनुसार अभियान एक हप्तासम्म सञ्चालन हुने छ ।

उनका अनुसार झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उनले जानकारी दिए ।

नेपालमा करिव ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ ।


सम्बन्धित खबरहरु