रगत जम्ने समस्या देखिएपछि युरोपेली मुलुकले स्थगित गरे अस्ट्राजेनेका खोप

ओकेखबर संवाददाता २९ फाल्गुन २०७७, शनिबार ०७:४३ मा प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

एजेन्सी । कोभिड–१९ विरुद्ध अक्सफोर्ड/अस्ट्राजेनेकाले तयार पारेको खोपबाट रगत जम्ने समस्या देखिएपछि धेरै युरोपेली मुलुकले खोप लगाउन स्थगित गरेका छन्।

युरोपमा हालसम्म ५० लाखले अस्ट्राजेनेकाको खोप लगाइसकेका छन्। जसमध्ये रगत जम्ने समस्याका ३० वटा केस आएका छन्। ‘यो खोपका फाइदाले यसको जोखिमलाई उछिनेको छ,’ युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले विज्ञप्तिमा भनेको छ।

तथापि, धेरै युरोपेली मुलुकले सावधानी अपनाउँदै अस्ट्राजेनेका खोप लगाउन स्थगित गरेका छन्। कतिपय मुलुकले खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखापरेपछि खोपको निश्चित ब्याचको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

डेनमार्क, नर्वे र आइसल्यान्डले रगत जमेको घटनाको छानविन गर्न अस्थायी रूपमा सबै अस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाएको घोषणा गरेका छन्। इटाली, अस्ट्रिया, स्टोनिया, लाटभिया, लक्जेमबर्ग र लिथुआनियालगायत १७ मुलुकमा पठाइएको १० लाख डोज खोप सर्वसाधारणलाई दिन प्रतिबन्ध लगाएका छन्।

‘रगत जम्ने घटनाहरूको छानबिन चलिरहेको अवधिमा पनि खोप दिन जारी रहनेछ,’ ईएमएले भनेको छ, ‘अहिले यो खोपका कारण यो अवस्था सिर्जना भएको हो भन्ने कुनै संकेत छैन। र, खोपको कुनै साइड इफेक्ट छैन।’

यो खोप ब्रिटिस–स्विडिस बहुराष्ट्रिय फर्मास्युटिकल एन्ड बायोटेक्नोलोजी कम्पनी अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तयार भएको हो। ईएमएले खोपको सुरक्षाको सम्बन्धमा मानिसमा गरिएको परीक्षणको दायरा बृहत रहेको र प्रशस्त समीक्षा गरिएको बताएको छ।

खोपको गुणस्तर नियन्त्रणमा कुनै सम्झौता नगरिएको र खोपसँग जोडिएका गम्भीर प्रतिकुल घटना पुष्टि नभएको ईएमएको दाबी छ। बेलायत सरकारले भने खोप वितरण जारी रहने बताएको छ।

‘हामी यो खोप सुरक्षित र प्रभावकारी छ भन्ने कुरामा स्पष्ट छौँ र त्यसैले सबैले आत्मविश्वासका साथ खोप लगाउनुपर्छ,’ बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भनेका छन्।

बेलायतको औषधि नियामक निकाय एमएचआरएका प्रमुख फिल ब्रायनले रगत जमेको रिपोर्ट हालसम्म खोप लगाएको जनसंख्यामा स्वाभाविक रूपमा हुने घटनाभन्दा बढी देखानपरेको बताए। ‘उपलब्ध प्रमाणले यो खोप नै मुख्य कारक भएको पुष्टि गर्दैन,’ उनले भने।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका फर्माकोइपिडिमिओलोजीका प्राध्यापक स्टिफन इभान्सले खोप बहिष्कार गर्ने निर्णय ‘युरोपमा छुट्टै रिपोर्टका आधारमा एक अति सतर्क दृष्टिकोण’ रहेको समाचार एजेन्सी रोयटर्ससँग बताए।

डेनमार्कको राष्ट्रिय स्वास्थ्य एजेन्सीले दुई साताका लागि अस्ट्राजेनेका खोप स्थगित गरेको छ। किनकि, अस्ट्रियामा एकै ब्याचको खोप ६० वर्षीया महिलालाई दिइएको थियो। ती महिलामा रगत जम्ने समस्याका कारण मृत्यु नै भयो।

डेनमार्कको राष्ट्रिय स्वास्थ्य एजेन्सीले रगत जम्ने समस्या र खोपबीच कुनै सम्बन्ध नरहेको बताएको छ। तथापि, सजगता अपनाउँदै तत्कालका लागि खोप लगाउन स्थगित गरेको छ। एजेन्सीका निर्देशक सोरेन ब्रोस्ट्रमले भने, ‘हामीले खोपको सम्भावित गम्भीर साइड इफेक्टको विषयमा जानकारी प्राप्त गर्नेबितिकै तुरुन्त र सावधानीपूर्वक कदम उठाउन जरुरी छ। हामीले अस्ट्राजेनेका खोप प्रयोग गर्नुअघि नै यो समस्याको हल गर्न वा स्पष्ट हुन जरुरी छ।’

खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गर्ने विस्तृत दस्तावेज रहेको उनको भनाइ छ। ‘हामीले अस्ट्राजेनेका खोपको प्रयोग बन्द गरेका होइनौँ तर केही समयका लागि यसको प्रयोग रोकेका हौँ।’

डेनमार्कका स्वास्थ्यमन्त्री म्याग्नस किनेकले ट्विटर गरेका छन्, ‘खोप र रगत जम्ने समस्याबीच सम्बन्ध छ भन्ने निष्कर्षमा अहिले नै पुग्न सम्भव छैन। हामी सुक्ष्म तरिकाले काम गरिरहेका छौँ, यसको राम्ररी छानबिन हुनु आवश्यक छ।’

डेनमार्कको घोषणापछि नर्वेले ‘सावधानीपूर्वक निर्णयका रूपमा’ खोपको प्रयोगमा रोक लगाएको थियो। नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थका निर्देशक गेर बुखोमले भने, ‘हामी खोप र रगत जम्ने समस्याबीच केही सम्बन्ध छ कि भनेर जानकारीको प्रतीक्षामा छौँ।’

इटालीका स्वास्थ्य अधिकारीले पनि ‘केही गम्भीर प्रतिकूल असर’ को सूचना पाएपछि खोपको संदिग्ध ब्याचको प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका छन्। तर, उक्त कदम सावधानीका रूपमा रहेको र खोपसँग कुनै सम्बन्ध स्थापित नभएको उनीहरूको भनाइ छ।

१२ दिनअघि कोरोनाविरुद्धको खोप लगाएका सिसिलीका ४३ र ५० वर्षका दुई प्रहरी अधिकारीको पनि रगत जम्ने समस्याका कारण मृत्यु भएको थियो। त्यहाँका स्वास्थ्य निकायले उक्त घटनाबारे अनुसन्धान गरिरहेका छन्।

यस्तै, कोभिड–१९ विरुद्ध खोप लगाएको केही दिनपछि ४९ वर्षीया नर्सको रगत जम्ने समस्याकै कारण मृत्यु भएपछि अस्ट्रियाले त्यस ब्याचको खोप प्रयोगमा गत सोमबार रोक लगाएको छ। स्पेनले बिहीबारसम्म यो खोपबाट रगत जम्ने कुनै पनि घटना नआएको तथा खोपको प्रयोग र वितरण जारी राख्ने बताएको छ।

स्टेट सेरम इन्स्ट्च्यिुटको तथ्यांकअनुसार डेनमार्कका एक लाख ४२ हजारभन्दा बढी व्यक्तिले अस्ट्राजेनेकाको पहिलो चरणको खोप लगाइसकेका छन्।

खोप कार्यक्रमका लागि डेनमार्क युरोपियन युनियनका बाँकी २७ देशभन्दा अगाडि छ। यसले आफ्नो जनसंख्याको १३ प्रतिशत मानिसलाई पहिलो चरणको खोप दिएको छ। डेनमार्कले पहिलो प्राथमिकतामा घर हेरचाह गर्ने मानिसलाई राखेको छ।

यस्तै, ६५ वर्षमाथिका दैनिक मद्दत आवश्यक पर्ने मानिस, ८५ वर्ष नाघेका स्वस्थ मानिस, स्वास्थ्यकर्मी र कोरोना संक्रमणको जोखिम समूहलाई प्राथमिकता दिइएको छ। (द गार्जियनबाट)


सम्बन्धित खबरहरु