आज: 

अबको भूराजनीतिक वर्चस्व कम्प्युटर चिप्समा निर्भर

जोन थोर्नहिल २० फाल्गुन २०७७, बिहीबार १५:२१ मा प्रकाशित ( महिना अघि) १८९ पाठक संख्या

मानिसको प्राथमिकताको हिसाब उसले बनाएको भवनको खर्चले मापन गर्ने हो भने सबैभन्दा शीर्ष स्थानमा ईश्वर रहन्छ। त्यसपछि भौतिकशास्त्रको भविष्य अनि कम्प्युटर चिप्स।

किनभने मक्कास्थित मस्जिद अल हराम र त्यसको सेरोफेरोलाई आधुनिक जमानाको सबैभन्दा महंगो भवनका रुपमा चिनिन्छ। त्यसपछि पालो आउँछ– फ्रान्सको इन्टरनेसनल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टरको। यद्यपि निर्माणसम्पन्न भइसक्दा यसले मक्काको सो मस्जिदको खर्चलाई उछिन्न पनि सक्छ।

तर, विश्वको तेस्रो महंगो भवन भने ताइवानको टीएसएमसीको सेमिकन्डक्टर उद्योग नै हो। यो भवन निर्माणका लागि करिब २० अर्ब अमेरिकी डलर खर्च भएको छ। आउँदो वर्ष यो भवन निर्माणसम्पन्न हुनेछ। निर्माणसम्पन्न भइसक्दा यो भवनभित्रका कोठाहरुको जम्मा क्षेत्रफल २२ वटा फुटबल चौरजत्रै हुनेछ। जहाँ अत्यन्त मसिना र पातला सिलिकन चिप्स बनाइने छ। मात्र ३ नानोमिटर आकारका यी चिप्सको मोटाइ त्यति नै हुनेछ, जति तीन सेकेन्डमा हाम्रो नङ बढ्छ।

कम्प्युटर चिप्सको माग कति छ, यसमा गरिएको विशाल पुँजी लगानीले नै देखाउँछ। अहिले चिप्स निर्माणमा ताइवानी कम्पनीको प्रभुत्व छ। किनभने उनीहरुले यो आधुनिक उत्पादनलाई परिष्कृत गर्न सकेका छन्। टीएसएमसीको चिप्स विश्वका हरेक यन्त्रमा प्रयोग हुन्छन्। एप्पलको पछिल्लो आईफोनदेखि लिएर चिकित्सा सामग्री र अमेरिकी सेनाको लडाकु विमान एफ–३५ सम्मले यो कम्पनीको चिप्स प्रयोग गर्छन्। विश्वमा प्रयोग हुने सेमिकन्डक्टरमध्ये ५७ प्रतिशत यही कम्पनीले उत्पादन गर्छ।

सेमिकन्डक्टरको उत्पादन भूराजनीतिक अनिवार्यता बन्दै गएको छ। चीनको प्रविधि–उद्योगलाई अघि बढ्न नदिन अमेरिकाले टीएसएमसीलाई आफ्ना चिप्स हुवावेलाई नबेच्न दबाब दिएको छ। पहिले हुवावे टीएसएमसीको सबैभन्दा ठूलो ग्राहकमध्ये एक थियो। अर्कोतर्फ, चीनले तेल आयातमा भन्दा कम्प्युटर चिप्स आयतमा बढी खर्च गर्छ। अरु आपूर्तिकर्तामाथिको यस्तो निर्भरता घटाउन चीनले आफ्नै सेमिकन्डक्टर उद्योग विकास गर्दै गएको छ।

यही कमजोरीलाई सम्बोधन गर्न अमेरिका, जापान र युरोपेली संघले समेत आआफ्नै सेमिकन्डक्टर उद्योग विकासका लागि प्रयास गरिरहेका छन्। यदि बाहिरबाट आयात हुने चिप्स रोकियो भने ती मुलुकका कार निर्माता तथा कम्प्युटर गेम कम्पनीहरुलाई ठूलो धक्का पुग्नेछ। यतिबेला कम्प्युटर चिप्सले कोरोनाविरुद्धको खोपसँग प्रतिस्पर्धा गरिरहेको छ। जसरी पनि यी दुवै स्रोत जुटाउनैपर्ने बाध्यतामा मुलुकहरु छन्।

बीसौँ शताब्दीमा आधुनिक राइफल, युद्धपोत वा आणविक बमका भरमा सैन्य क्षमता निर्माण हुन्थ्यो। तर, एक्काइसौँ शताब्दीमा अत्याधुनिक चिप्सलाई सबैभन्दा राम्ररी कसले प्रयोग गर्ने भन्नेमा यो क्षमता निर्भर हुन सक्छ। विश्वको सेमिकन्डक्टर उद्योगको केन्द्रमा छ– ताइवानको टीएसएमसी। त्यसैकारण चीनले अझै ताइवानमाथि आक्रमण गर्नसक्छ भनेर तर्क गर्नेहरु पनि छन्। तर, बेइजिङको कदम के हुन्छ, त्यसको निर्धारण त्योभन्दा निकै ठूलो सैन्य र राजनीतिक विषयले गर्नेछ।

जुनसुकै हिसाबले पनि टीएसएमसी असाधारण कम्पनी हो। लगानीमा उसले आफ्ना हरेक प्रतिस्पर्धीलाई पछि पारेको छ। जसको फाइदा ऊ यतिबेला लिइरहेको छ। यो वर्ष पनि करिब २५ अर्ब डलरभन्दा बढी पुँजी खर्च गर्ने सो कम्पनीले भर्खरै घोषणा गरेको छ। किनभने टीएसएमसी चिप्सको बढ्दो मागलाई पुरा गर्न सकिरहेको छैन।

गत महिना टीएसएमसीका कार्यकारी प्रमुख सीसी वेईले स्मार्टफोन र उच्च क्षमताका कम्प्युटरको बिक्री बढिरहेको तथा फाइभजी प्रविधि अपनाउन थालिएकाले चिप्सको माग बढिरहेको बताएका थिए। ‘हामीलाई के विश्वास छ भने फाइभजीले त्यस्तो विश्व तयार गर्नेछ, जहाँ डिजिटल कम्प्युटेसन सर्वव्यापी बन्नेछ,’ उनले भनेका थिए।

३ नानोमिटरको चिप्स बनाउने प्रतिस्पर्धाबाट धेरैजसो कम्पनीहरु पछि हटिसकेका छन्। किनभने यो निकै खर्चालु हुन्छ। अब त झन् अन्य प्रतिस्पर्धीले टीएसएमसीलाई भेट्टाउन निकै कठिन हुँदै गएको छ। किनभने सो कम्पनीले निकै ठूलो लगानी गरेको छ। प्रविधिमा उसको विज्ञता पनि अरुभन्दा निकै माथि छ। त्यसमाथि आपूर्ति सञ्जाल राम्रो हुनुका साथै ताइवान सरकारले पनि सहयोग गरिरहेको छ। यो कम्पनीलाई केही दुरीमा पछ्याइरहेको एक मात्र कम्पनी हो दक्षिण कोरियाको सामसङ।

‘टीएसएमसीलाई अन्य कम्पनीबाट अलग देखाउने विषय भनेको यसको जोखिम मोल्ने आँट र कार्य सफल गर्ने क्षमता नै हो। यसको बिजनेस मोडल अतुलनीय छ,’ प्रविधि विश्लेषक ब्रेट सिम्पसन भन्छन्, ‘यतिबेला बजारमा एउटा प्रभुत्वशाली खेलाडी छ। अर्को केही कमजोर देखिए पनि आफ्नो काम राम्ररी गरिरहेको छ।’

टीएसएमसीका लागि यतिबेला चिन्ताको विषय हो– अमेरिका र चीनबीचको भूराजनीतिक तनाव। यो कम्पनीले चीनमा दुई वटा उद्योग स्थापना गरेको छ। अमेरिकाको वासिङ्टनमा एउटा उद्योग छ भने अर्को एरिजोनामा खोल्ने योजना छ। यसरी दुवै मुलुकबीच उसले सन्तुलन कायम राख्दै आएको छ। तर, विश्वमा तीव्र गतिमा ध्रुवीकरण भइरहेको छ। जसका कारण अन्य कम्पनीझैँ टीएसएमसीलाई पनि दुईमध्ये एक रोज्न बाध्य पारिँदैछ।

अमेरिकाले चीनमाथि जति दबाब बढायो बेइजिङ उति चिप्स उत्पादनमा आत्मनिर्भर बन्ने नर्थ क्यरोलाइनास्थित डेविडसन कलेजकी प्राध्यापक तथा ‘ह्वाइ ताइवान म्याटर्स’ पुस्तककी लेखक सेली रिगर बताउँछिन्। ‘यस्ता समस्या समाधानका लागि खर्च गर्न चीनसँग अपरिमित पैसा छ। त्यसमाथि गर्नुपर्ने काम गर्नलाई त्यहाँ कुनै रोकटोक छैन,’ उनी भन्छिन्।

संसार चिनियाँ वर्चस्व भएको रातो आपूर्ति शृंखला र अमेरिका केन्द्रित नीलो आपूर्ति शृंखलामा विभाजित होला कि भनेर ताइवान लामो समयदेखि चिन्तित छ। त्यसो भयो भने ताइवानको या त आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग सम्बन्ध बिग्रिनेछ या उसको प्रमुख रणनीतिक मित्रसँग। त्यसैले कूटनीतिक कौशल देखाउने ताइवानको स्थान टीएसएमसीको चिप्सजस्तै साँघुरिँदै गएको छ।
(फाइनान्सियल टाइम्सबाट)


सम्बन्धित खबरहरु