मृतक र जीवित दुवैको पीडा खेप्ने परिवार र रेमिट्यान्सको गर्व !

गीता मरहाट्टा अधिकारी १२ फाल्गुन २०७७, बुधबार १३:३० मा प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

हाम्रो पितापूर्खाले वीर गोरखाली भन्ने उपाधि पाएकोमा हामी नेपाली गौरवान्वित थियौं । वीर गोरखाली बनेर विदेशीका लागि युद्ध लड्दा लड्दै हाम्रा पितापूर्खाले ज्यान गुमाए पनि हामीलाई सरोकार थिएन । त्यस्तै यतिबेला हामी नेपाली मात्र होइन रोजगारीका लागि विदेश गएर कमाउनेहरुको आयआर्जनलाई रेमिट्यान्स भनेर सरकार नै गर्व गर्छ । तर कमाउन जानेहरु मृत्युको मुखमा परेर बाकसमा कोचिएर आउनु परेको अवस्थाप्रति कसैलाई सरोकार छैन । विदेशमा मरेकाहरुको लाश वाकसमा बन्द गरेर ल्याउने त परम्परा नै भइसक्यो तर मोरङ्गका सुवास तामाङ र बाग्लुङ ढोरपाटनका तेजेन्द्र भण्डारीको भने फरक खाले कथा र व्यथा हुन पुग्यो ।

 

देशले रोजगारी दिन नसकेपछि अनेकौं सपना देखेर रोजगारीका लागि युवा युवतीहरु विदेशिनु रहर नभएर बाद्यता पनि हो । अर्काको मुलुकमा श्रम, शीप र पसीना बगाउँदा बगाउँदै सुवास तामाङ र तेजेन्द्र भण्डारीले जस्तो दुर्घटनाको सामना गरेर कोमामा जानु वा मृत्यु पछा्याउनु नियति नै बनेको छ । तर, विडम्बना जीवित र मृतकका परिवारले एकपछि अर्को पीडा भोग्नु भने आश्चर्यकै विषय हो । दुर्घटनापछिको अर्को दुर्घटना जीवित सुवासका परिवारले मृतक सम्झिएर अर्काको लाशको अन्तिम संस्कार गर्नु र तेजेन्द्रकी आमाले छोरा जीवित छ भन्दा भन्दै मृत्यु भएको समाचार सुुन्नु अनर्थकै घटना हो । पीडापछिको सुखद अवस्था र सुखीमन दुःखी हुनुपर्नु संयोग नै हो ।

 

मृतक सम्झिएर दाहा संस्कारगरिसकिएका सुवास तामाङले भिडियो कल गर्दाको उनकी श्रीमतीको हर्ष विभोर अवस्था र जीवित छोरो सोच्दा सोच्दै मृत्यु भइसकेको र दाहसंस्कार समेत अर्काले गरेको सुन्दा आमाको वेदना कल्पना गर्न सकिएला तर भोग्न भने निकै कठिन हुन्छ । यद्यपि यस्तो आकस्मिक घटना कसैले घटाएको नभएर अञ्जानमा नै घट्न पुगेको घटना हो । तर पनि जसले पीडा भोग्नु प¥यो त्यसको क्षतिपूर्ति कसै गरे पनि हुन सक्दैन । यो पनि निश्चित कुरा हो । यसको कटु अनुभव सुवासकी श्रीमती र तेजेन्द्रकी आमाले नै गरे ।
कुनै पनि युवा युवती आफ्नो गाउँघर, साथी संगतिको संगत र परिवारको न्यानो माया त्यागेर विदेशिने रहर पाल्दैनन् । तर, नेपालीको भने पितापूर्खाका पालादेखि नै यस्तो नियति नै बनेको छ । स्वदेशमा नै गुजारा चल्नेसम्मको रोजगारी पाउने हो भने अधिकांश युवा युवती विदेशिन चाहँदैनन् । युवा युवतीको श्रम बेचेर आएको आम्दानीलाई रेमिट्यान्स भनेर गर्व गर्ने सरकार भएको देशमा त्यस्तो रोजगारीको अवसर विगतमा मिलेन, वर्तमानमा मिलेको छैन र भविष्यमा पनि मिल्ने कुनै सम्भावना छैन । यसर्थमा युवा युवती विदेशिनु बाद्यता नै हो ।

पढ्ने नाममा कुटो कोदालो र डोको नाम्लो गर्न पनि बिर्सिइसकेका हुन्छन् । जसोतसो पढाई सकेपछि नोकरी पाउन पनि दुर्लभ छ । अनि विदेश पलायन भएर श्रम, शीप र पसीना बेच्नुको विकल्प नै छैन । गाउँघरमा वृद्धबृद्धा र आइमाई केटाकेटी बाहेक युवा युवतीहरु दुमो खोज्नु पर्ने अवस्थाका कारण खेतबारी बाँझिएका छन् । पैसा कमाउन विदेशिएका युवायुवती भने लाश बनेर बाकसमा स्वदेश भित्रिने वा गर्भमा अर्काको नासो बोकेर फर्किने विवशताका शिकार भइरहेका छन् । नेपाली युवा युवतीको श्रम, शीप र पसीनाले विदेशको विकास हुने आफ्नो र परिवारको जीवन, भाग्य र भविष्य भने अनिश्चित र अन्धकार हुने अवस्था छ ।

 

प्रारम्भदेखि नै ऋण काढेरै भए पनि घर जग्गा धितो राखी विदेशिने प्रयत्न गर्नु पर्ने हुन्छ । म्यानपावर कम्पनीका मालिकदेखि वैदेशिक रोजगार विभागका कर्मचारीहरुसम्मले असुल्ने अवसर पाइरहेकै हुन्छन् । त्यति गरेर विदेशिंदा पनि कति त रोजगारी नै नपाई ठगिएर फर्किनु पर्ने अवस्था आउँछ । मुद्दा र मामिलाका झमेला ऋणमाथि थपिन्छन् । रोजगारी पाउनेहरुले पनि लामै समयसम्म ब्याजको स्याज सहित ऋण तिर्नु पर्ने हुनाले बचत गर्न त समय नै लाग्छ । रित्तिएको र सिंदूर पुछिएको बेदना आमाबाबु र श्रीमतीले खेप्नु पर्छ भने अर्कोतर्फ ऋणको भार थेग्नु त छँदैछ । यो मुलुकमा मुना र मदन सम्झाउनेहरुको खाँचो छैन ।


सम्बन्धित खबरहरु