निर्मला प्रकरणमा हटाइएका एसपी डिल्ली विष्टको पुनर्वहाली

ओकेखबर संवाददाता १६ पुष २०७७, बिहीबार ०८:४४ मा प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

८ कात्तिक ०७५ मा गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो । प्रहरी नियमावलीमा भएको प्रावधानअनुसार विष्टले सो निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुनरावेदन दिएका थिए । त्यसकै आधारमा गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै उनलाई पुनर्बहालीको निर्णय भएको एक मन्त्रीले बताए ।

एसपी विष्टलाई सेवाबाट हटाउँदा मुख्य तीन आरोप लगाइएको थियो ।

निर्मला हराएपछि खोजी गर्न चासो नदिएको, शव भेटिएपछि घटनास्थलको सुरक्षा नगरी प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गरेको । पछि गरिएका छानबिनमा यी आरोप पुष्टि हुन सकेनन् ।सुरुमा पीडितलाई प्रहरीबाट राम्रो व्यवहार नभए पनि नियोजित रूपमा प्रमाण मेटाएको आधार भेटिएको थिएन ।
नक्कली अभियुक्त खडा गरिएको आरोप पनि पछि प्रहरीकै छानबिनमा गलत ठहरिएको थियो । एसपी विष्टले नै पक्राउ गरेका स्थानीय दिलीपसिंह विष्ट अहिले पनि अपराधको सबैभन्दा नजिक छन् । अनुसन्धानमा पनि बदनियत नदेखिएपछि उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए ।

‘त्यतिवेला पनि प्रहरी नेतृत्व र गृह प्रशासनले प्रमाणभन्दा भिडको निर्देशनका आधारमा त्यस्तो निर्णय गरेको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘गृह र प्रहरी नेतृत्वको गलत निर्णयकै कारण यो घटनामा प्रहरी बदनाम भएको हो ।’
विष्टसँगै सेवाबाट हटाइएका इन्स्पेक्टरको भट्टको हकमा भने निर्णय भएको छैन । उनी स्थानीय वडा प्रहरी कार्यालयको इन्चार्ज थिए । निर्मला हराएको दिन बेलुका उनका परिवारले खोजी गर्न आग्रह गर्दा उनले चासो नदिएको र बेलुका साथीहरूसँग मदिरा पिएर बसेको छानबिनमा खुलेको थियो । –नयाँपत्रिका दैैनिक


सम्बन्धित खबरहरु